FAQs Complain Problems

समाचार

संगठनात्मक स्वरुप

गाँउपालिकाको संक्षिप्त परिचय

पाँचपोखरी थाङ्पाल गाँउपालिका नेपालको पूरानो प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको उत्तर हिमाली क्षेत्रमा र हाल प्रदेश नं.३ मा पर्दछ । यो पालिकाको नाम प्रसिद्ध धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलका साथै ऐतिहासिक पहिचान सहित हिमाली गाँउपालिकाको रुपमा चिनिन्छ । “थाङपाल” को अर्थ ह्योल्मो भाषामा “थाङ” को अर्थ स्थानीय प्राकृतिक देवीदेवताहरुको बासस्थान भन्ने बुझिन्छ, “पाल”को (श्रीवास्तव) पर्यावची शब्द मंगल पनि भन्ने बुझिन्छ । साथ साथै “थाङ” को अर्थ समथर र “पाल” को भूभाग पनि भन्ने बुझिन्छ । र पाँचपोखरी प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलसँग सम्बन्धित छ । तसर्थ, यस गाँउपालिकाको नाम यी दुई शब्दहरुको संयोजनबाट बनेको छ । पाँचपोखरी मन्दिरको निर्माण बुम्बा रुवा वाईबाले शिकार खेल्दै यात्रा गर्ने क्रममा गरेका थिए । उनले केही मानिसहरु हिउँले ढाकिएको क्षेत्र भएपनि धान रोपिरहेका देखेँ । तिनीहरु मध्येका एक जना पुरुष बाहेक अन्य मानिसहरु गायब भएको देखेर उनी आश्चर्य चकित भए । र उनले त्यो पुरुष भगवान् शिव भएको पहिचान गरे पश्चात् पाँचपोखरी मन्दिरको निर्माण गरेको भन्ने भनाईहरु रहेका छन् ।यो गाउँपािलकाको स्थापना २०७४ सालमा राज्यको पुर्नसंरचना सँगै भएको हो । देशीय मान चित्रमा ३०ड्ढ८५ˈ७८ˈˈदेखि ३०ड्ढ९७ˈ५७ˈˈ उत्तरी अक्षांश र ३६ड्ढ१८ˈ९५ˈˈ देखि ३६ड्ढ९२ˈ९८ˈˈ पूर्व देशान्तर बिच फैलिएको यस गाँउपालिका पुर्वमा जुगल गाँउपालिका, चौतारा साँगाचोकगढी नगरपालिका तथा ईन्द्रावती गाँउपािलका, पश्चिमा हेलम्वु गाउँपालिका उत्तर तर्फ रसुवा र लाङटाङ राष्ट्रिय निकुञ्ज साथै दक्षिण तर्फ मेलम्ची नगरपालिका र ईन्द्रावती गाँउपालिका पर्दछ । यो गाउँपालिकाका नामाकरण भएको स्थल पाँचपोखरी यहि पालिकाको वडा नं ३ भोताङ्को भौगोलिक क्षेत्र भित्रको राष्ट्रिय निकुञ्जमा पर्दछ । यो पालिकाको कुल क्षेत्रफल १८७.२९ + २४९.१ बर्ग कि.मी. रहेको छ भने समुन्द्रीसतह बाट ४१०० मि.को उचाइमा यस पालिकाको उच्च भू–भाग पाँचपोखरी पर्दछ । नेपाल सरकारको निर्णयअनुसार साविकका बाँसखर्क, बरुवा, भोताङ्, थाङ्पालकोट, गुन्सा, थाङ्पालधाप, भोटेनाम्लाङ् र लागर्चे गा.वि.स.हरू समेटेर पाँचपोखरी थाङ्पाल गाँउपालिका घोषणा गरिएको थियो । वन, उर्बर कृषि जमिन, नदी नाला र जैविक विविधताजस्ता प्राकृतिक सम्पदाको यथेष्ट उपलब्धता, शिक्षित मानविय स्रोतमा वृद्धि, जनसांख्यिक लाभांशको अवसर उपलब्ध हुनु, शैक्षिक तालिम केन्द्रहरूको संचालन, पर्यटकीय गन्तव्यको लागि प्रशस्त स्थानहरु हुनु,बहुूमूल्य जडिबुटीहरु प्रशस्त मात्रामा रहनु तथा धार्मिक महत्व बोकेका प्रसिद्ध स्थानहरु हुनु यस गाँउपालिकाको दिगो विकासका आधारस्तम्भका रुपमा रहेका छन् । यस गाँउपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । यस पालिकामा विद्यमान परिवेश सर्वेक्षण २०७५ अनुसार कुल घरधुरी संख्या ७,८०३ रहेको छ । महिला १६,९६४ पुरुष १७,७३३ कुल जनसंख्या  ३४,६९७ रहेको छ । घरधुरी सर्वेक्षण २०७४/२०७५ अनुसार सबैभन्दा बढी तामाङ् जाति ४६५० घरधुरी (५९.५९%), दोस्रोमा क्षेत्री जाति ९७३ घरधुरी (१२.४९%), तेस्रोमा दलित जाति ५२४ घरधुरी (६.७१%)। चौथोमा नेवार जाती ४५७घरधुरी (५.८७%) क्रमश: अन्य जाति २९१ घरधुरी (३.७३%), ह्योल्मो जाति २२८ घरधुरी (२.९२%), गुरुङ् जाति १९७घरधुरी (२.५२%), शेर्पा जाति १६१ घरधुरी (२.०६%), ब्राह्मण जाति १५७ घरधुरी (२.०१%), भुजेल जाति ९० घरधुरी (१.१५%), दनुवार जाति ५५ घरधुरी (०.७०%) तथा मगर जाति २० घरधुरी (०.२५%)हरुको बसोबास रहेका छ । 
        
केही भाग ऐतिहासिक तथा धार्मिक क्षेत्रको रूपमा रहेको गाँउपालिकापर्यटकीय आकर्षणको बिन्दुमा रहेको छ, साथै प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको वैकल्पिक श्रोतको रूपमा वैदेशिक रोजगारी पनि रहेको छ । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक कृषि प्रणालीको विकल्पमा समेत लागिरहेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम पनि रहेको छ । प्रायश: सबै घरमा विद्युतीकरण भएको भएतापनि भिरालो जमिन भएका कारणवर्षायाममा कहिलेकाँही पहिरोले विद्युतमा समस्या पैदा गर्ने गर्दछ । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाँउपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । ल्होसार, दशैँ, तिहार, जनै पूर्णिमा (भदौ पूर्णिमा), देवाली, ठूलो एकादशी, मकर संक्रान्ती, तीज, होली, महाशिवरात्री, चैते दशै, रामनवमी, कृष्णजन्माष्टमी, बुद्धजयन्तीआदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ । शैक्षिक अवस्थालाई नियाल्दा साक्षर एस. एल.सी. भन्दा तल महिला ७६८६, पुरुष ८५५०, एस.एल.सी.सम्म महिला ९८६ पुरुष १२९४ उच्च शिक्षा तर्फ महिला ८०९, पुरुष ९५० जना रहेका छन् ।