समाचार
कृषि विकास शाखा
पृष्ठभूमि
नेपालको संविधान २०७२ को अनुसूची ८ अन्तर्गत स्थानिय तहको अधिकार सूचीको क्रमसंख्या ६ मा स्थानिय तथ्याङ्क तथा अभिलेख तयार गर्ने अधिकार स्थानिय तहलाई नै रहेको स्पष्ट उल्लेख गरेको छ । दिगो र योजनाबद्ध विकासलाई अगाडि बढाउनका लागि वैज्ञानिक योजना पद्धतिको आवश्यकता पर्दछ । वैज्ञानिक योजना पद्धति निर्माणका लागि भरपर्दो तथ्याङ्क अपरिहार्यता हुन्छ । त्यसैले तुलनात्मक अध्ययन, अनुसन्धान, विश्लेषण, विवेचना गर्न र सम्भावनाहरूको खोजी गर्न सही तथ्याङ्कले महत्वपूर्ण भूमिका खेल्दछ । नेपालको कुल ग्राहस्थ उत्पादनको करिब एक तिहाई योगदान र रोजगारी दुई तिहाई जनसंख्या कृषि क्षेत्रबाट प्राप्त हुने भएकाले जिविको पार्जनको प्रमुख स्रोतको रुपमा रहि गरिबी न्युनिकरण, खाद्यसुरक्षा र अर्थतन्त्रमा ठुलो प्रभाव परेको स्पस्ट भएता पनि कृषि उत्पादन र उत्पादकत्वमा आशातित प्रतिफल प्राप्त गर्न नसकिएको अवस्था छ । कृषि उत्पादन उत्पादकत्वमा अपेक्षित वृद्धि हुन नसक्नुमा मनसुनको अनिश्चिता, जलवायु, परिवर्तन, सिंचाईको अभाव, रोग तथा किराको प्रकोप महामारीको रुपमा देखा पर्नु, कृषि उत्पादन सामाग्रीको नियमित आपुर्तिको समस्या, कृषि सडक, सिंचाई, बजार, विद्युत जस्ता पुर्वधार सुविधाको आवश्यक्ता अनुसार विस्तार हुन नसक्नु, मुल्यश्रृङखला आधारित कृषि उद्यम तथा प्रविधि विकास र उपयोगमा कमी र कृषि अनुसन्धानबाट विकास गरिएका नयाँ प्रविधि तत्काल कृषक समक्ष नपुग्नु आदि कृषि विकासका समस्या देखिएका छन् ।
खाद्यपदार्थको मुल्य वृद्धि तथा अपर्याप्त उत्पादन एवं जलबावयु परिवर्तनको नकरात्मक प्रभाव परिरहेको परिवेशमा कृषि वस्तुहरुको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै सहज आपुर्ति गराउनुका साथै पालिका भित्रका आन्तरिक तथा बाह्य बजारका अवसरहरुको उपयोग गरी व्यापार सन्तुलन अभिवृद्धि गर्नु आवश्यक छ । गाउँपालिकाको जिविकोपार्जकनको प्रमुख क्षेत्र भनेको कृषि क्षेत्र हो । जवसम्म कृषि वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि हुदैन तवसम्म गरिबी घटाउन सम्भव देखिदै । आर्थिक रुपले सक्रिय ग्रामिण युवावर्ग विदेशिने क्रम बढ्दै जाँदा कृषि क्षेत्रमा श्रम शक्तिको अभाव भएको तथा उनीहरुले स्वदेशमै कृषि जन्य उद्यम संचालन गर्न इच्छुक देखिएको हुनले त्यस्ता युवाहरुलाई कृषि क्षेत्रमा संलग्न गराई सम्भावित विदेश सक्ने जनशक्तिलाई स्वदेशमै रोजगारी दिलाउन युवा मैत्री, व्यावसायिक तथा यान्त्रिकरण सहितको कृषि पद्धतिको विकास गरिनु आवश्यक देखिन्छ ।
वस्तुगत विवरण प्रकाशन गर्नुको उद्धेश्य
गाँउपालिकाक भित्र हालको कृषि अवस्थालाई चित्रण गरी आगामी दिनहरुमा के कस्ता योजनाहरुको आवश्यकता छ, जसले यस गाँउपालिकाको समग्र विकास गर्न र कृषि विकासका गुरुयोजना निमार्णको लागि एक महत्वपूर्ण भुमिका खेल्न सकोस् भनेर यो वस्तुगत सहितको कृषि प्रोपाईल तयार गरिएको छ । गाँउपालिकासँग सम्बन्धित विभिन्न तथ्याङ्क एवम् सूचनाहरुलाई एकिकृत गरी सरोकारवालाहरुलाई सरल र सहज रुपले सूचना उपलब्ध गराउने उद्धेश्यले यो विद्यमान परिवेश तयार गरिएको छ । यस वस्तुगत विवरण तयारीको मुख्य मुख्य उद्धेश्यहरु निम्नानुसार रहेका छन् ।
- राष्ट्रिय कृषिगणन, घरधुरी सर्वेक्षण तथा जिल्ला तथा स्थानीय तहबाट प्राप्त विभिन्न तथ्याङ्क तथा सूचनाहरुलाई एकिकृत रुपमा प्रस्तुत गर्ने ।
- गाँउपालिका भित्र भएका कृषि सम्बन्धि विभिन्न तथ्याङ्क एवम् सूचनाहरुलाई एकिकृत गरी गाँउपालिकाको संक्षिप्त चिनारी गराई विद्यमान अवस्थाहरुको तथ्य चित्रण गर्ने ।
- गाँउपालिकाको वार्षिक, आवधिक तथा दिर्घकालिन योजना तर्जुमाका लागि तथ्याङ्किय आधार तयार गर्ने ।
- गाँउपालिका भित्रका किसानहरु विवरण तयार पारी विद्यमान परिवेश तयार गर्न मार्ग निर्देशन गर्ने ।
- गाँउपालिका भित्र कृषि क्षेत्रको बारेमा जानकारी लिन चाहने सरोकारवाला जुनसुकै व्यक्ति एवम् संघ संस्थाहरुलाई सहज रुपमा सूचना तथा जानकारी उपलब्ध गराउने ।
- गाँउपालिकाको अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धानकर्ता, योजनाकार, संघ संस्था एवम् गाँउपालिकाको विकासमा जिज्ञासा राख्ने व्यक्तिहरुलाई महत्वपूर्ण क्षेत्र, सम्भावना र समस्याहरुको बारेमा एकिकृत रुपमा अवगत गराउने उपयोगी सामाग्रीको रुपमा प्रस्तुत गर्ने ।
- गाँउपालिका क्षेत्रभित्र रहेका सेवा सुविधाहरूको बारेमा जानकारी गराउने ।
- गाँउपालिका क्षेत्रभित्रको सम्भावना र समस्याहरूको अवगत गराउने ।
- स्थानीय आवश्यकता र स्रोत साधनको विनियोजनको अवस्थाको जानकारी गराउने ।
- गाँउपालिका भित्र बसोवास गर्ने मानिसहरूको आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, तथा पेशागत स्थितिको बारेमा जानकारी गराउने ।
- गाँउपालिका क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत, साधन तथा सीपको पहिचान गरी समष्टिगत विवरण प्रस्तुत गर्ने ।
- गाँउपालिकाको वास्तविक र वस्तुगत सूचना संकलन तथा व्यवस्थापनमा सहयोग गर्ने ।
- गाँउपालिका क्षेत्रको तथ्याङ्कको आधारमा जिल्ला तथा राष्ट्रिय स्तरसम्म सूचना उपलब्ध गराई व्यवस्थापनमा सहयोग गर्ने ।
- गाँउपालिकास्तरमा सञ्चालित कार्यक्रमको पृष्ठपोषण (Feedback) प्रदान गरी आगामी कार्यक्रमको लागि मार्गनिर्देश गर्न सहयोग पुर्याउने ।
- हरेक वर्ष गाँउपालिका तथ्याङ्लाई अद्यावधिक गर्न मद्धत गर्ने ।
श्रोत परिवेश विश्लेषण तथा रणनीतिक कार्ययोजना २०७५ थप जानरकारी
गाँउपालिकाको संक्षिप्त परिचय
पाँचपोखरी थाङ्पाल गाँउपालिका सिन्धुपाल्चोक जिल्लाको उत्तर हिमाली क्षेत्र बागमती प्रदेशमा पर्दछ । यो पालिकाको नाम प्रसिद्ध धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलका साथै ऐतिहासिक पहिचान सहित हिमाली गाँउपालिकाको रुपमा चिनिन्छ । “थाङपाल” को अर्थ ह्योल्मो भाषामा “थाङ” को अर्थ स्थानीय प्राकृतिक देवीदेवताहरुको बासस्थान भन्ने बुझिन्छ, “पाल”को (श्रीवास्तव) पर्यावची शब्द मंगल पनि भन्ने बुझिन्छ । साथ साथै “थाङ” को अर्थ समथर र “पाल” को भूभाग पनि भन्ने बुझिन्छ । पाँचपोखरी प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलसँग सम्बन्धित भएको हुँदा । यस गाउँपालिकाको स्थापना २०७४ सालमा राज्यको पुर्नसंरचना सँगै भई पाँचपोखरी थाङ्पाल गाउँपालिका रहन गएको हो । यस पालिकाको कुल क्षेत्रफल १८७.२९ बर्ग कि.मी. रहेको छ भने समुन्द्रीसतह बाट ४१०० मि.को उचाइमा भू–भाग पाँचपोखरी पर्दछ । नेपाल सरकारको निर्णयअनुसार साविकका बाँसखर्क, बरुवा, भोताङ्, थाङ्पालकोट, गुन्सा, थाङ्पालधाप, भोटेनाम्लाङ् र लागर्चे गा.वि.स.हरू समेटेर पाँचपोखरी थाङ्पाल गाँउपालिका घोषणा गरिएको थियो ।
- प्रदेश :- बागमती
- जिल्ला :- सिन्धुपाल्चोक
- प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २
- प्रदेश सभा निर्वाचन क्षेत्र नं. २
- पालिकाको कुल क्षेत्रफल :- १८७.२९ वर्ग कि.मी
- वडा संख्या :- ८ वटा
- उचाइ :- समुन्द्र सतह देखि १५०० मिटर देखि ६०००० मिटर सम्म
- सिमाना पुर्व- जुगल गाउँपालिका, पश्चिम – हेलम्बु गाउँपालिका, उत्तर – रसुवा जिल्ला, दक्षिन – मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका
- देशीयमान चित्रमा :- ३००८५’७८” देखी उत्तरी अक्षांश र ३६०१८’९५” देखी ३६०९२’९८” पुर्व देशान्तर बिच फैलिएको ।
- कुल जनसंख्या :- १०६९३ (पुरुष) १०२९३ ( महिला) जम्मा २०९८३ ( २०६८ को जनागणना अनुसार)
- कुल जनसंख्या :- ३४६९७ (गाउँपालिकाबाट २०७४ मा गरिएको घरधुरी सर्वेक्षण अनुसार)
- घरधुरी संख्या ७८०३ (घरधुरी सर्वेक्षण २०७४ अनुसार)
- जलवायु :- हिमाली, उपोष्ण र उष्ण प्रदशीय
- तापक्रम ० देखी २२ डिग्री सेल्सियस सम्म
- पोखरी कुण्ड :- ४२०० मिटर उचाई सहित विश्वकै अग्लो ताल मध्ये नवौं स्थानमा अवस्थित
- मुख्य नदी :- इन्द्रावती
- प्रमुख अन्नबाली :- धान, मकै, कोदो, गहुँ, जौ, करु, उवा फापर (आलु :- तरकारी र मुख्य खाद्यन्नको रुपमा प्रयोग गरिने ।
- मुख्य तरकारीबालीहरु :- आलु, मुला, गोल्भेडा, काँक्रा, फर्सी, स्कुस, करेला, रायो साग, काउली बन्दा, भिन्डी, लसुन, प्याज, भन्टा, खुर्सानी,
- प्रमुख फलफुलबालीहरु :- किवी, स्याउ, नास्पती, सुन्तलाजात फलफुल, आरु खुर्पानी, अनार, अंगुर आदि
- औद्योगिक बालीहरु :- आलैची, चिया, कफी
- प्रमुख मसाला बालीहरु :- अदुवा, वेसार, लसुन, खुर्सानी, आदि
- दलहनबालीहरु :- मुसुरो, सिमी, भटमास, केराउ, बोडी, मास, आदि
- तेलहन बालीहरु :- रायो, सर्स्यु , तिल, सुर्यमुखी आदि
भौगोलिक स्वरुप
१. प्रमुख नदीनालाखोलाहरु
यस गाँउपालिका भित्र विभिन्न किसिमका साना ठूला गरी धेरै नै नदीनाला तथा खोलाहरु रहेका छन् । इन्द्रावती,हाँडीखोला, याङ्री खोला, महादेव खोला, तिपेनी खोला, खाल्डे खोला, लार्के खोला, पतेरी खोला, छेपारे खोला, याङ्री खोला, चिसापानी खोला, छहरे खोला, ताँगु, चित्रे, ग्युङ्गर आदि रहेका छन् ।
२. ताल तलैया तथा झरनाहरु
यस क्षेत्रमा रैथाने पोखरी, पाँचपोखरी कुण्ड, टोप्के झर्ना, राक्से पोखरी, भुत्ते पोखरी, ढुकु पोखरी, दुधकुण्ड, भुत्ते छाङ्गाका छहरा, ग्युङ्गर झर्ना, मङदुङ झर्ना, वाङबीजाङ लगायतका पोखरी तथा झरनाहरु रहेका छन् ।
३. हावापानी
भौगोलिक विविधताका कारण गाँउपालिकाको विभिन्न क्षेत्रको हावापानीमा पनि विविधता रहेको पाइन्छ । उचाईको वृद्धिसँगै चिसोको मात्रामा पनि वृद्धि हुँदै जान्छ । यहाँ तातो हावा बहने बेसींदेखि चिसो हावा चल्ने डाँडाकाडाँहरु रहेका छन् । यस गाँउपालिकामा विशेष गरी तीन प्रकाको हावापानी पाइन्छ ।
४. लेकाली हावापानी
१३००० फिटदेखि १६००० फिटसम्मको उचाईमा यस किसिमको हावापानी पाईन्छ । यो भू–भाग खेतीको लागि त्यती उपयुक्त छैन । हिउँदमा हिउँको कारण केही गर्न नसके तापनी वर्षायाममा भने भेडा, च्याङ्गा, चौरी चराउनको लागि यो ठाँउ उपयुक्त छ । हावापानी ज्यादै चिसो हुने हुनाले यहाँ मानिसको बस्ती त्यती भेटिदैँन ।
समशितोष्ण हावापानी
७००० फिटदेखि १३००० फिटसम्मको उचाईमा यस किसिमको हावापानी पाईन्छ । यस क्षेत्रमा चौँरी, भेडा, च्याङ्ग्रा पाल्नुका साथै आलु खेतीको लागि यो खालको हावापानी राम्रो मानिन्छ । हिउँदमा चिसो र वर्षामा न्यानो हुने हुनाले यस्तो हावापानी भएको क्षेत्रमा कम घना बस्तीहरु पाईन्छन् । यहाँ धुपी, सल्ला, गुँरास जस्ता बोटबिरुवा पाउनाको साथै खाद्यान्न, तरकारी तथा नगदेबालीको खेती गर्ने गरिन्छ ।
अर्धउष्ण हावापानी
२५०० फिटदेखि ७००० फिटसम्मको उचाईमा यस प्रकारको हावापानी पाईन्छ । जाडोमा त्यती जाडो नहुने र गर्मीमा पनि धेरै गर्मी नहुने यो क्षेत्र खाद्यान्न, तरकारी तथा फलफूल बाली उत्पादनको लागि ज्यादै उपयुक्त छ।